‘पार्टी होइन, मेरो रोजाइ जनता हुन्’ – मेयर हमाल


‘पार्टी होइन, मेरो रोजाइ जनता हुन्’ – मेयर हमाल
  • नवकिरण
  • माघ १८, २०८२

धनगढी, माघ १८ – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूले राजनीतिक दलभन्दा जनतालाई प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले ‘अरूले पार्टी रोजे, मैले जनता रोजेँ’ भन्ने सन्देश दिएका हुन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै मेयर निर्वाचित भएका हमाल हालसम्म कुनै पनि राजनीतिक दलसँग आबद्ध छैनन्। उनी अहिले पनि उपमहानगरपालिकाको काममा केन्द्रित रहेको बताइन्छ।

देशका विभिन्न सहरमा स्वतन्त्र उम्मेदवारबाट निर्वाचित मेयरहरू पछिल्लो समय फरक–फरक राजनीतिक यात्रामा लागिरहेका छन्। काठमाडौंका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् भने धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्टी स्थापना गरी सुनसरी–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यी दुवैले मेयर पदबाट राजीनामा दिएका छन्।

तर, धनगढीका मेयर हमाल भने संघीय चुनावको चर्चाभन्दा टाढा रहँदै स्थानीय तहकै जिम्मेवारीमा सक्रिय देखिएका छन्।

स्थानीय तह निर्वाचनमा हमालले नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई पराजित गर्दै मेयर पद जितेका थिए। हमालले २६ हजार ८६५ मत प्राप्त गर्दा वडले १४ हजार ८१७ मत पाएका थिए। तेस्रो स्थानमा रहेका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेका थिए।