ओलीको कटाक्ष : ‘अदालतको झोकमा प्रधानमन्त्री नियुक्ति–बर्खास्ती हुने देशको अनुभव छ’


ओलीको कटाक्ष : ‘अदालतको झोकमा प्रधानमन्त्री नियुक्ति–बर्खास्ती हुने देशको अनुभव छ’
  • नवकिरण
  • भाद्र ३, २०८२

काठमाडौं, भदौ ३ – प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको निर्णयलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले कहिलेकाहीँ अदालतलाई “झोक चल्दा” प्रधानमन्त्रीसमेत बर्खास्ती वा नियुक्ति हुने गरेको दाबी गरेका हुन् ।

मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै ओलीले भने, “प्रधानमन्त्री संसदबाट चुनिन्छ, संसदले नै हटाउँछ । तर कहिले काहीँ अदालतलाई झोक चलेपछि प्रधानमन्त्रीलाई बर्खास्त गर्ने वा नियुक्त गर्ने गरेको हाम्रो ताजा अनुभव छ ।”

उनले संविधानको व्याख्याता अदालत भएकाले अनुकूल व्याख्या गर्ने अधिकारको प्रयोग कहिलेकाहीँ राजनीतिक हस्तक्षेप झैँ देखिने गरेको टिप्पणी गरे । “अदालतमा बसेपछि संविधानको व्याख्या गर्ने सुविधा हुन्छ । त्यही सुविधा प्रयोग गरेर फलानालाई नियुक्त गरिदिएको छु भन्ने निर्णय पनि आउँदो रहेछ,” ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक अभ्यासमार्फत मुलुक पूर्ण लोकतन्त्रतर्फ अघि बढिरहेको समेत दाबी गरे ।