काठमाडौं, पुस ७ – ललितपुरमा बोराभित्र प्याक गरिएको शव फेला परेको घटनाको अनुसन्धान गर्दै जाँदा अर्को एक युवकको पनि हत्या भएको तथ्य सार्वजनिक भएको छ। सो घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार हत्या हुनेमा भोजपुर घर भएका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव आज भक्तपुर र ललितपुरको सिमाना क्षेत्रमा पर्ने सूर्यविनायक नगरपालिका–७ स्थित जंगलमा फेला परेको हो।
यसअघि पुस २ गते ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटस्थित एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ निवासी केशवराज हायुको शव बोरामा प्याक गरिएको अवस्थामा भेटिएको थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले प्रारम्भमा देवराज ढुंगेललाई पक्राउ गरेको थियो। सोधपुछका क्रममा उनले जयराज अधिकारीको संलग्नता रहेको बयान दिएपछि प्रहरीले आज बिहान सिन्धुलीबाट जयराजलाई पनि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जयराज अधिकारीले बयानका क्रममा पारुहाङ राईको पनि हत्या गरेको स्वीकार गरेपछि उनले देखाएको स्थानबाट पारुहाङको शव फेला परेको हो।
पक्राउ परेका देवराज ढुंगेल र जयराज अधिकारीले मंसिर २४ गते केशवराज हायुको हत्या गरेको र त्यसको भोलिपल्ट मंसिर २५ गते पारुहाङ राईको हत्या गरेको स्वीकार गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले दुवै अभियुक्तले दुईवटै हत्यामा संलग्नता स्वीकार गरेको जानकारी दिँदै घटनाबारे थप अनुसन्धान जारी रहेको बताए।
