काठमाडौँ, जेठ ४ – परराष्ट्र मन्त्रालय ले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने यसअघिको सूचना गलत रहेको स्वीकार गर्दै क्षमा मागेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी झाको मुद्दा अझै इरानको अदालतमा विचाराधीन रहेको र उनी हालसम्म थुनामै रहेको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार अमृत झालाई सन् २०२६ जनवरीमा इरानको किश्म आइल्यान्डबाट अन्य विदेशी नागरिकसँगै पक्राउ गरिएको थियो । उनीमाथि अवैध सामान तस्करी तथा ओसारपसारमा संलग्न रहेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार सन् २०२६ अप्रिल १५ मा इरानका लागि नेपाली अवैतनिक वाणिज्यदूत शहराम शान्तियाइले कतारस्थित नेपाली दूतावासलाई अमृत झा रिहा भएको जानकारी दिएका थिए । सोही आधारमा मन्त्रालयले झा रिहा भएको अनौपचारिक सूचना सार्वजनिक गरेको थियो । त्यसपछि परराष्ट्र मन्त्रीले पनि सामाजिक सञ्जालमार्फत उक्त विषय सार्वजनिक गरेका थिए ।
तर पछि प्राप्त विवरणअनुसार झा अझै रिहा नभएको र उनको मुद्दामा अदालतले विशेषज्ञ प्रतिवेदन माग गरेको खुलेको मन्त्रालयले जनाएको छ । त्यसपछि मन्त्रालयले झाका परिवारलाई वास्तविक अवस्थाबारे जानकारी गराइएको उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार हाल विज्ञ टोलीले अदालतका लागि प्रतिवेदन तयार गर्ने काम गरिरहेको छ । इरानको स्थानीय अदालतमा मुद्दा चलिरहेकाले त्यहाँको कानुनअनुसार नै प्रक्रिया अघि बढ्ने बताइएको छ । साथै झाको निष्पक्ष सुनुवाइ सुनिश्चित गर्न नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको पनि जनाइएको छ ।
रिहा भएको अपुष्ट सूचना सार्वजनिक हुँदा उत्पन्न भ्रम र असुविधाप्रति मन्त्रालयले औपचारिक रूपमा क्षमायाचना गरेको छ ।
