रोशीमा अवैध क्रसरमाथि कडाइ : तुरुन्त बन्द गर्न गृहमन्त्रीको आदेश


रोशीमा अवैध क्रसरमाथि कडाइ : तुरुन्त बन्द गर्न गृहमन्त्रीको आदेश
  • नवकिरण
  • चैत्र २४, २०८२

काठमाडौँ, चैत २४ – गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगहरू तत्काल बन्द गर्न निर्देशन दिएका छन्। अनियन्त्रित उत्खननले वातावरण र मानव बस्ती दुवै जोखिममा परेको निष्कर्षसहित उनले यस्तो कदम चालेका हुन्।

गिट्टी–बालुवाको अव्यवस्थित दोहनले नदीको धार परिवर्तन हुनुका साथै बाढी र पहिरोको खतरा बढेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे। जोखिम न्यूनीकरणका लागि ढिलाइ नगरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

स्थानीय तह र प्रशासनलाई संयुक्त रूपमा अनुगमन कडा पार्न भनिएको छ। अवैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर उद्योग तत्काल बन्द गराउने र आवश्यक परे कानुनी कारबाहीसमेत अघि बढाउने तयारी रहेको जनाइएको छ।

गृहमन्त्री गुरुङले विगतमा पहुँच र सेटिङका आधारमा यस्ता उद्योग सञ्चालन हुँदै आएको उल्लेख गर्दै अब त्यस्ता गतिविधिमा पूर्ण रोक लगाइने स्पष्ट पारे। प्राकृतिक स्रोतको संरक्षण सरकारको प्राथमिकता भएको उनको भनाइ छ।