सुकुमबासी आन्दोलनप्रति नेकपा (माओवादी) को समर्थन, वैकल्पिक बसोबासको माग


सुकुमबासी आन्दोलनप्रति नेकपा (माओवादी) को समर्थन, वैकल्पिक बसोबासको माग
  • नवकिरण
  • बैशाख २३, २०८३

काठमाडौं, वैशाख २३ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले देशभर सुरु भएको सुकुमबासी आन्दोलनप्रति औपचारिक समर्थन जनाएको छ । पार्टीले विज्ञप्ति जारी गर्दै आन्दोलनलाई साथ दिन आम जनसमुदायलाई आह्वान गरेको हो।

पार्टीका प्रवक्ता प्रकाण्ड सीले जारी गरेको विज्ञप्तिमा भूमिहीन तथा सुकुमबासीहरूलाई जबर्जस्ती हटाउने कार्यको विरोध गरिएको छ । उनले राज्यले उनीहरूको जीवनयापनको सुनिश्चितता नगरी उठिबास गराउनु अन्यायपूर्ण भएको उल्लेख गरेका छन्।

नेकपा (माओवादी) ले सरकारले तत्काल वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेको छ । भूमिहीन नागरिकलाई उचित आवास र जमिनको अधिकार सुनिश्चित नगरी गरिएको कारबाही स्वीकार्य नहुने पार्टीको धारणा छ।

यसैबीच, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको नेतृत्वमा सुकुमबासी बस्तीहरूमा डोजर चलाइएको विषयलाई लिएर पार्टीले निरन्तर आलोचना गर्दै आएको छ । सो कदमले कमजोर वर्गमाथि अन्याय भएको ठहर पार्टीको छ।

वैशाख १२ गतेदेखि देशका विभिन्न स्थानमा सुकुमबासी बस्ती हटाउने अभियान सञ्चालन भइरहेका छन् । यसले प्रभावित समुदायमा त्रास र असन्तोष बढाएको देखिएको छ।