एमाले केन्द्रीय कमिटी बैठक सुरु


एमाले केन्द्रीय कमिटी बैठक सुरु
  • नवकिरण
  • श्रावण ५, २०८२

काठमाडौं, साउन ५ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा पार्टी विधानमा संशोधन गर्न प्रस्तावित मस्यौदामाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।

पार्टी उपाध्यक्ष एवं विधान मस्यौदा समितिका संयोजक विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोबाट पारित भएको मस्यौदा बैठकमा प्रस्तुत गरेका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय सदस्यहरूले प्रत्येक जनालाई अधिकतम तीन मिनेट धारणा राख्न समय दिइएको छ।

यसअघि साउन १ गते सचिवालय, २ र ३ गते पोलिटब्युरो बैठक बसेर ‘७० वर्षको उमेर सीमा’ र ‘एउटै पदमा दुई कार्यकाल’ भन्ने प्रावधान हटाउने प्रस्ताव अघि सारिएको थियो। यिनै विषयलाई समेटेर केन्द्रीय कमिटीमा मस्यौदा पेस गरिएको हो।

बैठकमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले पहिले नै धारणा राखिसकेकाले यस चरणमा केन्द्रीय सदस्यहरूले मात्र आफ्नो विचार राख्न पाउने व्यवस्था गरिएको छ।

एमालेले केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि मस्यौदालाई थप छलफल र सुझावका लागि अधीनस्थ कमिटीहरूमा पठाउने तयारी गरेको छ। विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने कार्यक्रम रहेको छ।