बजेटबारे अर्थमन्त्री पौडेल र प्रचण्डबीच छलफल


बजेटबारे अर्थमन्त्री पौडेल र प्रचण्डबीच छलफल
  • नवकिरण
  • बैशाख २३, २०८२

काठमाडौं, वैशाख २३ — आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेल र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

छलफल आज बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको हो। प्रचण्ड सचिवालयका अनुसार अर्थमन्त्री पौडेलले बजेटका प्राथमिकताहरू र माओवादी केन्द्रको सुझावबारे छलफल गर्न प्रचण्डसँग भेट गरेका हुन्।

सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने जेठ १५ गते बजेट ल्याउने तयारीमा जुटिरहेको छ। यसै क्रममा अर्थमन्त्री पौडेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरेका थिए।

बजेट निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलहरूसँगको परामर्शलाई अर्थ मन्त्रालयले विशेष प्राथमिकता दिएको छ।