द्वन्द्वपीडित, जनआन्दोलन र भूकम्प घाइतेको उपचार खर्च अब सरकारले बेहोर्ने


द्वन्द्वपीडित, जनआन्दोलन र भूकम्प घाइतेको उपचार खर्च अब सरकारले बेहोर्ने
  • नवकिरण
  • अषाढ २५, २०८२

काठमाडौं, असार २५ – सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेश आन्दोलन तथा भूकम्पका कारण घाइते भएका नागरिकको उपचार खर्च सरकारले नै व्यहोर्ने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यससम्बन्धी कार्यविधि स्वीकृत गरेका हुन्।

नयाँ कार्यविधिअनुसार यस्ता घाइतेहरूको उपचारपछि अस्पताललाई सरकारबाट सोधभर्ना दिइनेछ। घाइतेहरूको उपचार देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा हुने व्यवस्था मिलाइएको छ।

कार्यविधिमा अङ्ग गुमाएका व्यक्तिहरूलाई कृत्रिम अङ्ग जडान गरिने तथा आवश्यक सहयोग सामग्री पनि उपलब्ध गराइने व्यवस्था गरिएको छ। साथै, अङ्ग प्रत्यारोपणको समेत व्यवस्था मिलाइने उल्लेख छ।

सरकारले आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकेको छ। स्वास्थ्य उपचार सहज र पहुँचयुक्त बनाउन गरिएको यो निर्णयले द्वन्द्व र विपत्तिका पीडितहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।